सर्वोच्च अदालत खण्डहरमैबाट सेवा सुरु

काठमाडौं – भदौ २४ गते प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीमा परेपछि क्षतिग्रस्त बनेको सर्वोच्च अदालतले आइतबारदेखि खण्डहर भवनमै सेवा सञ्चालन सुरु गरेको छ । अदालतले आफ्नो आँगनमा पाल टाँगेर न्याय सम्पादन कार्य अघि बढाएको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बिहान १०ः३० बजे नै अदालत पुगेका थिए । उहाँले जलेका भवन र सवारीसाधन निरीक्षण गर्नुभयो र कर्मचारीसँग तारेख, पेसी तथा बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका तयारीबारे जानकारी लिनुभयो ।

प्रदर्शनकारीले न्यून क्षति पुर्‍याएको एनेक्स भवनलाई इजलास र न्यायाधीशहरूको चेम्बरका लागि प्रयोग गर्ने तयारी भइरहेको छ । प्रधानन्यायाधीश राउतले उपस्थित न्यायाधीश, रजिष्ट्रार तथा अधिकृतहरूसँग गोला प्रक्रिया अघि बढाउने र अन्य मुद्दा कहिलेबाट सुुनुवाइ गर्ने भन्नेबारे छलफल गर्नुभयो ।

तर अदालतका कर्मचारी भने कहाँ बस्ने र के गर्ने भन्ने अन्योलमा देखिन्थे । सेवाग्राहीहरू पनि आफ्ना मुद्दाको भविष्यबारे जिज्ञासा लिएर अदालत पुगेका थिए । तत्कालका लागि उनीहरूलाई खाली रजिष्ट्रारमार्फत तीन महिनापछिको तारेख दिइएको छ ।

सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार सेवाग्राहीले कठिन परिस्थिति बुझेकाले अहिलेको असुविधा स्वीकार गरेका छन् । उहाँले अदालत बिस्तारै लयमा फर्किने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्