इस्लामावाद – पाकिस्तानको वजिरिस्तान जिल्लामा तालिबान समूह (तहरीक–ए–तालिबान पाकिस्तान)ले गरेको आक्रमणमा कम्तीमा १२ जना सुरक्षाकर्मीको ज्यान गएको छ।
स्थानीय अधिकारीका अनुसार सैनिकको एक गस्ती टोली गुडिरहेको बेला दुवैतर्फबाट आक्रमण गरिएको थियो। एएफपी समाचार संस्थाका अनुसार आक्रमणमा १२ सुरक्षाकर्मी मारिएका छन् भने ४ जना घाइते भएका छन्।
आक्रमणपछि आक्रान्तहरूले सुरक्षाकर्मीको हतियार समेत कब्जा गरेको जनाइएको छ। घटनापछि सुरक्षाकर्मीले त्यस क्षेत्रमा खोजतलास अभियान थालेका छन्।
तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) अफगान तालिबानसँग प्रत्यक्ष रूपमा अलग भए पनि घनिष्ठ सम्बन्ध राख्ने समूह मानिन्छ। यस आक्रमणको जिम्मेवारी टीटीपीले सामाजिक सञ्जालमार्फत लिएको छ।






