काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा लगाइएको कर्फ्यू र निषेधाज्ञा हटाइएको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा विश्लेषणपछि विज्ञप्ति जारी गर्दै आदेश फिर्ता लिएका हुन्।
काठमाडौंले भने संवेदनशील क्षेत्रलाई लक्षित गर्दै निषेधित क्षेत्रसम्बन्धी आदेश यथावत राखेको छ। प्रदर्शन र भिडभाड गर्न नपाइने क्षेत्र तोकिएको छ। सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ छन् भने ट्राफिक प्रहरी नियमित काममा फर्किएका छन्। बजार, पसल, होटललगायत क्षेत्रहरू खुल्दै गएपछि उपत्यकाको चहलपहल बढेको छ।
नयाँ सरकार गठनसँगै देशभर जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। जेन–जी आन्दोलनपश्चात विभिन्न ठाउँमा जारी कर्फ्यू र निषेधाज्ञा धेरैजसो क्षेत्रमा हटाइसकिएको छ। नेपाली सेनाले स्थानीय प्रशासनलाई आवश्यक निर्णय गर्न सक्ने अधिकार रहेको स्पष्ट पार्दै, सुरक्षाकर्मीहरूलाई सहयोग गर्न आम नागरिकसँग अपील गरेको छ। सेनाले जसरी भए पनि आम नेपालीहरूको सुरक्षा र मानवीय उद्धारमा पूर्ण रूपमा प्रतिवद्ध रहने जनाएको छ।







