स्थानीय प्रशासनसँग समन्वय गरी सार्वजनिक गाडी सञ्चालन गर्न आग्रह

File Photo

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्थानीय प्रशासनसँग समन्वय गरी सार्वजनिक गाडी सञ्चालन गर्न आग्रह गरेको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले केन्द्र सरकारबाट औपचारिक सूचना नआए पनि यात्रुहरूको सहजताका लागि प्रशासनसँग सहकार्य गरेर गाडी चलाउन सुझाव दिएको जानकारी दिनुभयो।

महासङ्घले यसअघि विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा गाडी नचलाउन मातहतका सङ्घ–संस्थालाई निर्देशन दिएको थियो। तर, कर्फ्यु र निषेधाज्ञा खुकुलो भएपछि सोमबारदेखि छिटपुट गाडी चल्न थालेका छन्। गोङ्गबु नयाँ बसपार्कबाट उपत्यका बाहिरिने गाडीको सङ्ख्या हिजोभन्दा आज थप बढेको छ। काठमाडौं उपत्यकाभित्रै पनि सार्वजनिक तथा निजी गाडीहरूको संख्या बढ्दो छ।

नयाँ सरकार गठनसँगै आम जनजीवन सामान्य बन्दै गएको छ। जेन–जी आन्दोलनपश्चात लगाइएका कर्फ्यु र निषेधाज्ञा धेरैजसो स्थानमा हटाइएका छन्। काठमाडौंमा आज कर्फ्यु वा निषेधाज्ञा छैन। तर, ललितपुर र भक्तपुर प्रशासनले बिहान ११ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरे पनि परिस्थितिअनुसार निर्णय गर्ने तयारीमा छन्।

चितवन प्रशासनले भने आज बिहानैदेखि कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाएको जनाएको छ। अन्य ठाउँमा पनि शान्ति–सुरक्षाको अवस्था सामान्य बनेको छ। सडकमा खटिएका नेपाली सेना फर्किइसकेका छन् भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले सुरक्षा र व्यवस्थापन सम्हालिरहेका छन्। बजार, पसल तथा होटलहरू पनि खुलेका छन्।

गएराति सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएपछि आज बिहानदेखि देशभर अवस्था थप सहज बन्दै गएको देखिएको छ। यसबीच, सरकारले संसद विघटन गरी फागुन २१ गते निर्वाचन मिति घोषणा गरेको छ, तर प्रमुख तीन दलले संसद विघटनको कडा विरोध गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्