काठमाडौं – अन्तरिम सरकार गठनका विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ९ बजेका लागि बोलाएको बैठक दिउँसो २ बजेका लागि सारिएको छ। आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई जेनजी आन्दोलनले अन्तरिम सरकार प्रमुखका रूपमा अघि सारेसँगै नेपालले पहिलोपटक महिला सरकार प्रमुख पाउने सम्भावना बलियो बनेको छ। तर संसद् विघटन गरेर कार्कीलाई प्रधानमन्त्री बनाउने कि नगर्ने भन्ने विषयमा बिहीबार राति अबेरसम्म शितल निवासमा बसेको बैठक निष्कर्षमा पुग्न सकेन।
जेनजी पक्ष संसद् विघटनलाई अनिवार्य ठान्दा, परम्परागत दलहरू र राष्ट्रपति पौडेल संसदभित्रैबाट समाधान खोज्नुपर्ने अडानमा देखिएका छन्। यही कारण सहमति जुट्न नसकेपछि बैठक टुंगिए पनि शुक्रबार पुनः वार्ता गर्ने सहमति भएको हो।
यसअघि बुधबार नेपाली सेनाको जंगीअड्डामा जेनजी प्रतिनिधिले कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा प्रस्ताव गरेका थिए। प्रधानसेनापति अशोकराज सिग्देलमार्फत सो प्रस्ताव राष्ट्रपति पौडेलसम्म पुगेपछि बिहीबार अबेरदेखि राष्ट्रपतिले दलका शीर्ष नेताहरूसँग परामर्श सुरु गरेका छन्।






