काठमाडौँ – राजधानीस्थित सेन्ट्रल बिजनेस पार्कमा भदौ २४ गते साँझ जेनजी समुहको प्रदर्शनका क्रममा लागेको आगलागीले भायानेटको प्रमुख डाटा सेन्टर प्रभावित भएपछि भाया टिभी सेवामा अस्थायी अवरोध आएको छ।
चौथो तलामा रहेको डाटा सेन्टर क्षतिग्रस्त भएपछि देशभरका प्रयोगकर्ताले सेवामा अवरोध भोग्नुपरेको थियो। कम्पनीले आफ्ना ग्राहक सेवामा अवरोध भएकोमा माफी माग्दै भनेको छ, “यस्तो आकस्मिक विपत्तिबाट समेत हामीले वैकल्पिक संरचनाको प्रयोग गरेर सेवा आंशिक रूपमा निरन्तरता दिन सफल भएका छौँ।”
भायानेटका अनुसार, कम्पनीसँग ब्याकअप डाटा सेन्टरहरू भए पनि प्रमुख संरचना अचानक गुमाउँदा सुरुवाती अवस्था चुनौतीपूर्ण भएको थियो। भवन असुरक्षित भएकाले तत्काल प्रवेश गर्न नसक्दा सुरुमा केवल आंशिक रूपमा मात्र इन्टरनेट सञ्चालन गरिएको र भाया टिभी सेवा चलाउन नसकिएको कम्पनीले जनाएको छ।
तर भदौ २५ गते बिहान सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि प्राविधिक टोलीले आवश्यक सर्भरहरू सुरक्षित स्थानमा सारेर पुनःस्थापना गरेको हो। कम्पनीले जानकारी दिँदै भन्यो, “हाम्रो प्राविधिक टोलीको निरन्तर प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ।”
भायानेटले आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने र छिट्टै भाया टिभी सेवा पनि सुरु गर्ने लक्ष्य राखेको छ। साथै, कम्पनीले ग्राहकहरूको असुविधा बुझ्दै आगामी दिनमा यस्ता घटनाबाट सिकेर अझ सुरक्षित र बलियो नेटवर्क निर्माण गर्ने प्रतिबद्धता पनि जनाएको छ।






