काठमाडौं । विभेद अन्त्य राष्ट्रिय अभियान नेपालका संयोजक तथा अधिवक्ता इन्द्र कालिकोटेले देशलाई नयाँ दिशातर्फ अघि बढाउन भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
उनले विगत चार वर्षदेखि राष्ट्रघाती, भ्रष्टाचारी र साम्राज्यवादी प्रवृत्तिका नेताहरूको विरोध गर्दै आएको स्मरण गर्दै, अहिले Gen-Z पुस्ताले त्यस्ता शक्तिहरूलाई सबक दिएको उल्लेख गरेका छन् । तर, आन्दोलनका क्रममा आफ्ना सपना बोकेका युवा–युवतीको मृत्यु हुनु दुःखद भएको भन्दै उनले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कालिकोटेको वक्तव्यमा भनिएको छ, “देश हाम्रो हो, यो देशमा बनेका संरचना पनि हाम्रो हो । त्यसैले अब बाँकी काम गर्नका लागि अगाडि बढ्न यी राष्ट्रघातीहरूले रगत पसिना चुसेर कमाएको अकुत सम्पत्ति राष्ट्रकरण गर्नुपर्नेछ ।”
उनले देशलाई नयाँ निकास दिनका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली ल्याउनुपर्ने र दोषीहरूलाई कानुन बमोजिम कडा सजाय दिनुपर्ने माग गरेका छन् ।
वक्तव्यमा वंशवादी सोच बोकेका भित्री तत्व र विदेशी साम्राज्यवादी–विस्तारवादी शक्तिहरूबाट सतर्क रहनुपर्ने भन्दै, संयमित भएर नयाँ राजनीतिक दिशा तय गर्नुपर्ने पनि उल्लेख छ ।
कालिकोटेले नेपालमा समाजवाद र साम्यवादको अनुभूति दिलाउने खालको संरचना विकास गर्नुपर्नेमा जोड दिँदै गाँस, बास, कपाससँगै स्वास्थ्य र शिक्षा निःशुल्क उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याएका छन् ।






