काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको रबरको गोली लागेर तीन जना पत्रकार घाइते भएका छन्। घाइते पत्रकारहरूमा नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना, नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की र कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ रहेका छन्।
प्रदर्शनको रिपोर्टिङ तथा दृश्य कैद गर्ने क्रममा उनीहरूलाई गोली लागेको हो। नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना र नेपाल प्रेसका उमेश कार्की फोटो खिच्ने क्रममा रबरको गोली लागेर घाइते भएको बताइएको छ। त्यस्तै, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई भिडियो खिच्ने क्रममा गोली लागेको हो।
तीनै जना पत्रकारलाई तत्कालै उपचारका लागि सिभिल अस्पताल लगिएको छ। उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ भन्ने विवरण भने आउन बाँकी छ। प्रदर्शन नियन्त्रणका लागि प्रहरीले पानीको फोहरा, अश्रुग्यास र अन्ततः रबरको गोली प्रयोग गरेको थियो।
पत्रकारमाथि भएको आक्रमणप्रति प्रेस स्वतन्त्रता सम्बन्धी निकायहरूले चासो व्यक्त गर्ने सम्भावना रहेको छ।






