काठमाडौं – राजधानी काठमाडौंमा जेन-जी (Gen-Z) ले घोषणा गरेको प्रदर्शनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा रणनीति तयार पारेको छ। जेनजीले समाजिक सञ्जालमाथिको प्रतिबन्ध, व्यापक भ्रष्टाचार, बेथिति, र राजनीतिक नेताहरू तथा उनीहरूका सन्तानको विलासी जीवनशैलीविरुद्ध सोमबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन्।
यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका केही जेनजी विद्यार्थीहरूले अनुमति मागेका थिए। प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले उनीहरूको उपस्थितिलाई पुष्टि गर्दै भने, “भोलिको प्रदर्शनका लागि भनेर उहाँहरू आउनुभएको थियो। निषेधित क्षेत्र बाहेकका स्थानमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएका छौं।”
प्रदर्शनलाई शान्तिपूर्ण ढंगले अघि बढाउने तयारी भएको जेनजीले बताएको छ। उनीहरूले सुरक्षाकर्मीलाई नै फूल दिएर प्रदर्शन सुरु गर्ने घोषणा समेत गरेका छन्।
यता, सम्भावित अप्रत्याशित परिस्थिति नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जिल्ला सुरक्षा समितिको बैठक डाकी सुरक्षा रणनीति तयार गरेको छ। बैठक सीडीओ रिजालको संयोजकत्वमा बसेर आवश्यक सुरक्षात्मक उपायहरूबारे छलफल भएको छ।
प्रशासनले प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहज वातावरण मिलाइने बताएको छ।






