तातोपानी र रसुवागढी नाका ठप्प, दसैंअघि व्यवसायी अन्योलमा

File Photo

काठमाडौँ – गत असार २४ मा रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले पुल बगाएयता रसुवागढी नाका अझै सहज बनेको छैन। त्यस्तै, तातोपानी नाका जोड्ने अरनिको राजमार्गको इको खण्डमा लगातार पहिरो खसिरहेकाले यो नाका पनि बन्द छ।

इको क्षेत्रमा एक महिनामा केही दिन मात्र यातायात सञ्चालन भएको छ। निरन्तर पहिरो खस्दा सडक बारम्बार अवरुद्ध हुने गरेको छ। दशैं–तिहार नजिकिँदै गर्दा व्यापारीहरूले ल्याएका सयौं कन्टेनर सामान बाटामै रोकिएका छन्। यसले व्यापारिक कारोबारदेखि बजार आपूर्ति र उपभोक्तासम्म प्रत्यक्ष असर पर्न थालेको छ।

रसुवा नाका बन्द भएकाले यसपटक तातोपानीबाट आयात बढ्ने अनुमान गरिएको थियो। तर, तातोपानी पनि अवरुद्ध भएपछि दसैंका लागि झिकिएका सामान राजधानी ल्याउन नसकिएको छ। यसले मुलुकभरै अभाव हुने आशंका बढेको छ।

बाह्रबिसे–तातोपानी सडकखण्डको इको पहिरो क्षेत्र भन्सार नजिकै पर्ने भएकाले समस्या झन् गम्भीर बनेको छ। सडक खुलाउन डोजर चलाइए पनि वर्षा नरोकेसम्म स्थायी समाधान हुने सम्भावना कम देखिन्छ।

नाका अवरुद्ध हुँदा चीनको ल्हासा, सिगात्से, न्यालमलगायत क्षेत्रका गोदाममा करिब १५ सय कन्टेनर, केरुङमा ६–७ सय कन्टेनर र इको वरपर दर्जनौं कन्टेनर अलपत्र परेका छन्। यसअघि छोटो समयका लागि खुलेको तातोपानी नाकाबाट ५०–६० कन्टेनर सामान भित्रिए पनि अहिले फेरि ठप्प भएको छ।

फलफूल र नाशिने वस्तु सडकमै कुहिन थालेपछि व्यवसायीहरूलाई ठूलो घाटा व्यहोर्नु परेको छ। दसैं नजिकिँदै गर्दा लाखौं मूल्यका मालसामान अझै चीन–नेपाल सीमानामा अड्किएका कारण व्यवसायी मात्र नभई उपभोक्ता पनि अन्योलमा परेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्