काठमाडौँ – नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजै सकिने भएको छ। महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान मस्यौदा र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव पारित गर्दै समापन गर्ने कार्यक्रम छ।
एमाले प्रवक्ता राजेन्द्र गौतमका अनुसार प्रतिवेदनमाथि छलफल गर्न गठन गरिएका १० समूहले दिएका सुझावलाई समेट्दै पारित गरिनेछ।
यसपटकको महाधिवेशनले पार्टीभित्र आन्तरिक एकता बलियो बनाउने भनिएपनि पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता पेन्डिङमा राख्ने निर्णयले प्रतिनिधिहरूमाझ असन्तोष बढाएको छ। उनीहरूले शक्तिशाली नेताका निकट व्यक्तिहरूलाई मात्र जिम्मेवारी दिएको भन्दै पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भएको टिप्पणी गरेका छन्।
महाधिवेशनले ७० वर्षे उमेर सीमा र एउटै नेताले दुई कार्यकारी पद सम्हाल्न नपाउने प्रावधानलाई हटाएर नयाँ विधान पारित गर्ने तयारी गरेको छ। महासचिव पोखरेलका अनुसार महाधिवेशनले ‘जनताको बहुदलीय जनवाद’लाई आधार बनाई नेपाली विशेषताको समाजवादतर्फ अघि बढ्ने कार्यनीति लिनेछ। उनका अनुसार समाजवादको अर्थ आर्थिक वृद्धि, जनअधिकारको प्रत्याभूति र प्रतिनिधि छनोटमा जनसहभागिता सुनिश्चित गर्नु हो।
महाधिवेशनले ‘मिशन ८४’ अन्तर्गत आगामी आम निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन विशेष कार्यक्रम पारित गर्ने र त्यहीअनुसार अभियान सञ्चालन गर्ने पनि तयारी गरेको छ। त्यसैगरी, महाधिवेशनले समसामयिक राजनीतिक प्रस्तावसमेत पारित गर्नेछ। उक्त प्रस्तावमा सरकारलाई प्रभावकारी बनाउन, जनताका सरोकारका मुद्दा उठाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्ने प्रावधान रहने प्रवक्ता गौतमले जानकारी दिए।






