काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन प्रणाली प्रभावकारी बन्न नसक्ने बताएकी छन्।
२२ औं निजामती सेवा दिवस–२०८२ को अवसरमा सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीलाई बधाई तथा शुभकामना सन्देश दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य रहेको धारणा व्यक्त गरिन्।
मन्त्री न्यौपानेले सूचना प्रविधिको युगमा निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित, सरल र छरितो सेवाप्रवाह गर्नुपर्ने आवश्यकता जोड दिइन्। उनले भनिन्, “आजको युगमा विश्व तीव्र गतिमा रुपान्तरण भइरहेको छ। डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा र नवप्रवर्तनशील उपायको उपयोग नगरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिँदैन।”
उनका अनुसार, निरन्तर सिकाइ, सुधार र व्यावसायिक क्षमताको अभिवृद्धिमार्फत मात्र नागरिकको विश्वास जित्न सकिन्छ। राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सिर्जनशील प्रशासनिक संरचना निर्माण गर्नु आजको अपरिहार्यता भएको उनको भनाइ छ।
निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई देश र जनताको सेवा गर्न थप प्रोत्साहित गर्ने विश्वास समेत मन्त्री न्यौपानेले व्यक्त गरेकी छन्।






