काठमाडौँ – विश्व ज्ञान पाठशालाको आयोजनामा अन्तरविद्यालय इतिहास वाचन प्रतियोगिताको तेस्रो संस्करण आज शनिवार इन्द्रजात्राको अवसर पारी काठमाडौँमा सुरु भएको छ। पेप्सीकोला टाउनप्लानिङस्थित विश्व ज्ञान पाठशालामा आयोजना गरिएको कार्यक्रममा उपत्यकाका ३० विद्यालयका विद्यार्थीहरूले सहभागीता जनाएका छन्।
इतिहासका प्राध्यापक डा. लोकनाथ दुलाल र साहित्यका विज्ञ डा. शैलेन्दु प्रसाद नेपाल निर्णायकको भूमिकामा रहनुभएको छ। प्रत्येक प्रतिस्पर्धीलाई ५ मिनेटको समय तोकिएको छ। प्रतियोगिताको समापन आजै बेलुकी हुने र सबै सहभागीलाई प्रमाणपत्र, साथै प्रथमदेखि पाँचौँ स्थान हासिल गर्ने विद्यार्थीलाई ट्रफी तथा पदक प्रदान गरिने विद्यालयले जनाएको छ।

कार्यक्रमको सभापतित्व गर्दै विद्यालयका प्रिन्सिपल मातृका कार्कीले स्वागत मन्तव्यका क्रममा अन्य विद्यालयले गर्ने सामान्य प्रतियोगिताभन्दा फरक कार्यक्रम आयोजना गर्न आवश्यक ठानेको बताउनुभयो। उहाँले इतिहास सम्झन लायक र गर्व गर्न लायक हुने विषय भएकाले विद्यार्थीलाई इतिहाससँग साक्षात्कार गराउनु नै प्रतियोगिताको मूल उद्देश्य भएको उल्लेख गर्नुभयो। उहाँले इतिहास वाचन प्रतियोगिताले विद्यार्थीमा इतिहास अध्ययन गर्ने बानी विकास गर्न, विगतका घटनाबारे जानकारी लिन तथा ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
प्रतियोगितामा विभिन्न विद्यालयका निर्देशक, प्रिन्सिपल, संयोजक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको छ।








