काठमाडौँ — नेपालमा फेसबुकको वेब यूआरएल बन्द गरिएको छ। सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले इन्टरनेट सेवा प्रदायक (ISP) लाई निर्देशन दिएपछि बिहीबार रातिदेखि फेसबुकको वेब ठेगाना (facebook.com) मा पहुँच रोकिएको हो।
इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पान (ISPAN) का प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले सरकारको निर्देशनअनुसार यूआरएल ब्लक गर्ने काम सुरु भइसकेको पुष्टि गरे। उनले भने, “हिजोदेखि नै यूआरएलहरू ब्लक गरिएको छ। फेसबुक डटकम भनेर ब्राउज गर्दा यो खुल्दैन।”
सरकारले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन आदेश दिएको थियो। आइस्पानका अनुसार २६ वटा प्लेटफर्मको यूआरएल ब्लक गर्ने कार्य सुरु भइसकेको छ।
तर एप भने हालसम्म बन्द गरिएको छैन। मोबाइल अपरेटर र इन्टरनेट प्रदायकहरूले एउटै प्राविधिक मापदण्डमा काम गर्नुपर्ने भएकाले एपसमेत बन्द गर्ने तयारी भइरहेको आइस्पानले जनाएको छ। यसका लागि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणका प्रतिनिधि सम्मिलित प्राविधिक समिति गठन गर्न माग गरिएको छ।






