काठमाडौं – अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ। यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो। यसको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बीबीसीका अनुसार, भूकम्प बिहीबार राति ८:५६ बजे गएको हो। नंगरहार र कुनार प्रान्तमा धक्का महसुस भएपछि स्थानीय बासिन्दा आत्तिएर सुरक्षित स्थानतर्फ भागेका थिए। प्रारम्भिक चरणमा जनधनको क्षतिको पुष्टि नभए पनि स्थानीय चिकित्सकहरूलाई उद्धृत गर्दै बीबीसीले १७ जना घाइते अस्पतालमा भर्ना गरिएको जनाएको छ।
यसअघि आइतबार गएको भूकम्पमा ठुलो क्षति भएको थियो। संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (OCHA) का अनुसार त्यस दिनको भूकम्पमा १,३६८ जनाको मृत्यु भएको र २,१८० जना घाइते भएका छन्। तथ्यांक २५ वटा गाउँबाट प्राप्त विवरणमा आधारित रहेको उल्लेख गरिएको छ।
यसरी निरन्तर भूकम्पीय गतिविधि देखिनुले प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाको त्रास अझै बढाएको छ।






