एमालेको विधान महाधिवेशन आज देखि, झण्डै २५ सय नेता कार्यकर्ता गाेदावरीमा भेला हुँदै

काठमाडौं – नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्नेछन् ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी जम्मा २ हजार ३४१ जना सहभागी हुने स्थायी कमिटी सदस्य तथा प्रचार विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिए। सहभागी अधिकांश प्रतिनिधिहरू काठमाडौं आइपुगिसकेका छन् ।

महाधिवेशन स्थलसम्म सातदोबाटोदेखि गोदावरीसम्मको करिब १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाल हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित सुरु भएको महाधिवेशनको उद्घाटन सत्र डिजिटल प्रविधिमार्फत सम्पन्न गरिएको हो ।

प्रतिनिधि परिचय स्क्यानका लागि ६ वटा कम्प्युटर बुथ तथा ४ वटा डिजिटल ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ । हलमा प्रवेश गर्दा दायाँतर्फ अध्यक्ष ओलीको पूर्णकदको तस्बिरसहित महाधिवेशनको लोगो राखिएको छ । हल वरिपरि पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीका साथै कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र भ्लादिमिर लेनिनका पूर्णकदका तस्बिरहरू सजाइएको छ । साथै परिसरभित्र साना पोखरीमा सेता हाँसका जोडी खेलिरहेका दृश्य र विभिन्न समुदायका सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका छन् ।

उद्घाटन कार्यक्रम करिब १२ मिनेटमै सकिने  र त्यसपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदन हिजो बसेको सचिवालय बैठकले पारित गरेको थियो । आजै उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले राजनीतिक प्रतिवेदन तथा निर्वाचन, लेखा र अनुशासन आयोगका प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । साँझ ५ बजेसम्म आजको कार्यसूची सम्पन्न हुने बताइएको छ ।

पार्टी पोलिटब्यूरो सदस्य एवं मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठका अनुसार हल बाहिर प्रस्तुत गरिने जातीय र सांस्कृतिक झाँकीहरूलाई प्रतिनिधिहरूले भित्रैबाट डिजिटल बोर्डमार्फत अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ । भोलि प्रस्तुत प्रतिवेदनमाथि नौ वटा समूहमा छलफल हुने र पर्सि समूहगत प्रतिवेदनसहित अध्यक्ष ओलीको सम्बोधनपछि महाधिवेशन समापन गरिने एमालेले जनाएको छ ।

एमालेले यसअघि २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यही सनराइज हलमै सम्पन्न गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्