काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का पूर्वअध्यक्ष डिके ढुंगानाले सरकारले विद्यालय शिक्षा विधेयकमा आफ्नो माग सम्बोधन नगरे विद्यालय बन्द समेतको आन्दोलन गर्ने चेतावनी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको ‘विद्यालय शिक्षा विधेयकका समस्या र समाधानका उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।
ढुंगानाले शिक्षामा निजी क्षेत्रको योगदान उच्च रहेको भन्दै राजनीतिक नेतासँगको भेटमा विधेयक संशोधनको आश्वासन पाएको जानकारी दिए ।
एसोसिएसन अफ प्रि-स्कुल एजुकेसन नेपाल (अपेन)का अध्यक्ष बद्री दाहालले लगानी सुरक्षित गर्ने वातावरण सरकारले नबनाएको आरोप लगाए । उनले “विद्यालयको चाबी सरकारलाई दिन सकिँदैन” भन्दै विधेयकप्रति आपत्ति जनाए ।
उच्च विद्यालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)का कार्यवाहक अध्यक्ष युवराज शर्माले विधेयकले निजी शिक्षण संस्थालाई कमजोर बनाउन नहुने बताए । उनले निजी विद्यालयलाई अझ उत्तरदायी बनाउँदै लगानी सुनिश्चित गर्नुपर्ने धारणा राखे ।
निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन)का अध्यक्ष कृष्ण अधिकारीले सरकारले शिक्षा धान्ने हो भने आफूहरू अन्य व्यवसायमा जान तयार रहेको बताए । उनले निजी क्षेत्रको लगानी सुनिश्चित नगरे विद्यालय बन्दसम्मको आन्दोलन गर्ने चेतावनी दिए ।
त्यस्तै, एनप्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विधेयकले शिक्षाको गुणस्तर सुधारतर्फ ध्यान नदिएको आरोप लगाए । उनले “२१औँ शताब्दीको शिक्षालाई मार्गदर्शन गर्ने खालको व्यवस्था विधेयकमा छैन” भने ।
यसैबीच, प्याब्सन केन्द्रीय महासचिव आरबी कटवालले शिक्षा क्षेत्रमा निजी लगानीलाई नथिच्न सरकारलाई आग्रह गरे । उनले निजी विद्यालयले गुणस्तरीय शिक्षा दिन निरन्तर प्रयास गर्दै आएको उल्लेख गर्दै भने, “हामी मुलुकको शिक्षा सुधारको पक्षमा छौं, तर लगानी असुरक्षित हुने खालको विधेयक हामीलाई स्वीकार्य हुँदैन बरू सडक आन्दोलनमा जान हामी बाध्य हुन्छौं ।”






