काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछन् । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ ।
यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नेछन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । सो समितिमा बैठकमा समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा आव २०८२/८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गर्ने कार्यक्रम छ ।






