काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियान्जिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भएर मंगलबार रेलमार्गबाट बेइजिङ पुगेका छन्।
तियान्जिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारले उनलाई बिदाइ गरेका थिए। बेइजिङमा ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्ने र उपराष्ट्रपतिद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ।
यसअघि उनले राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन्। भ्रमणको अन्तिम दिन उनले अन्य राष्ट्रप्रमुखहरूसँगै बेइजिङमा आयोजना हुने विजयोत्सव समारोहमा भाग लिनेछन्।
प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल भोलि राति स्वदेश फर्कनेछ।






