काठमाडौं – सुनचाँदीको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको मूल्य ६ सय रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँ पुगेको छ ।
हिजो तोलाको मूल्य दुई लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन, अस्ति भने दुई लाख तीन हजार छ सय रुपैयाँमा पुगेको थियो । लगातार तीन दिनदेखि सुनले नयाँ उच्च मूल्य कायम गरेको हो ।
चाँदीको मूल्य पनि आज बढेको छ । तोलामा १५ रुपैयाँले वृद्धि भई दुई हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य दुई हजार चार सय ७० रुपैयाँ थियो ।
सुनचाँदीको भाउ विश्व बजारसँगै नेपाली बजारमा पनि निरन्तर उकालो लाग्दै गएको व्यवसायीहरूको भनाइ छ ।






