रुपन्देही-३ उपनिर्वाचनमा रास्वपाका उम्मेदवार डा. लेखजंगले डिभोर्स कागजात सार्वजनिक गरे

रुपन्देही –  रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँगको सम्बन्धविच्छेद (डिभोर्स) भइसकेको कागजात सार्वजनिक गरेका छन् । थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्धविच्छेद गरी मिलापत्र भएको कागज फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

रास्वपाबाट नौ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेका थापा विवादमा तानिएका थिए । उनीबारे बहुविवाह गरेको समाचार सार्वजनिक भएपछि थापाले डिभोर्सको प्रमाण सार्वजनिक गर्दै स्पष्टीकरण दिएका हुन् । सो कागजात सार्वजनिक गर्दै उनले लेखेका छन्, “परिस्थितिका कारण मैले जीवनमा दुई पटक विवाह गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्धविच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।”

रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार उम्मेदवार छनोट प्रक्रिया सुरु हुँदा नै थापाको बहुविवाहबारे सूचना आएको थियो । सो जानकारीपछि पार्टीको टिमले भेरिफाइ गर्दा पहिलो पत्नी सुलोचना घिमिरेसँग सम्बन्धविच्छेद भइसकेको पुष्टि भएको उनले बताए ।

“विगतमा बहुविवाह भएपनि दुई वर्षअघि नै डिभोर्स भएको उहाँले बताउनुभयो, हामी त्यसमा विश्वस्त भयौं,” महामन्त्री बुर्लाकोटीले भने । उनका अनुसार बहुविवाह अन्त्य भइसकेको विषयलाई अनावश्यक रूपमा उछालिएको हो ।

पहिलो पत्नी सुलोचना घिमिरे बिएससी नर्सिङ अध्ययन गरेकी हुन् र हाल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छिन् । कान्छी पत्नी नुमा शर्मा भने काठमाडौंमा बस्छिन् ।

बुर्लाकोटीका अनुसार डिभोर्सपश्चात पनि थापा र पहिलो पत्नीबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ, जसको प्रमाण उनका छोरा पनि लेखजंगसँगै बस्नु हो ।

सिद्धार्थनगर नगरपालिका–९ अञ्चलपुरका थापालाई रास्वपाले गत शुक्रबार र शनिबार सम्पन्न प्राइमरी इलेक्सन र अन्य प्रक्रियाका आधारमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

२०८० असार ७ गते पार्टी सदस्यताको आवेदन फर्म भरेका थापाको सदस्यता भने प्राविधिक कारण २०८२ मा मात्र प्रमाणित भएको पार्टीले जनाएको छ । यसअघि उनी २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसदको सूचीमा समावेश भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्