काठमाडौं । विद्यालय शिक्षा विधेयकका प्रावधानविरुद्ध निजी विद्यालय सञ्चालकहरूले देशभर विरोध कार्यक्रमलाई तीव्रता दिँदै बस र्याली गरेका छन् । आन्दोलनको श्रृंखलाअन्तर्गत सोमबार राजधानी काठमाडौं लगायत देशभरी स्कुल बस तथा भ्यानसहित र्याली निकालिएको हो ।
आज बस तथा भ्यान सडकमा उतारिएको थियो । र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सनका प्रतिनिधिहरूले कम्पनी ऐनमार्फत दर्ता भएका विद्यालयहरूलाई गैरनाफामूलक बनाउने व्यवस्था अस्वीकार्य भएको बताए । धेरै विद्यालयहरूले बैंकबाट ऋण लिएर सञ्चालन गरिरहेका छन्, तर गैरनाफामूलक संस्था बनाइएमा भविष्यमा वित्तीय संस्थाबाट ऋण लिन असम्भव भई विद्यालय नै बन्द हुने अवस्था आउनेछ । विद्यालयहरूले हाल १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइरहेको दाबी गर्दै त्यसभन्दा बढी सम्भव नभएको बताए । उनीहरूले सरकारले किताब, कापी, स्टेशनरी, पोशाक, बस भाडा, आवासीय सुविधा जस्ता सम्पूर्ण सामग्री र सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने प्रावधानसमेत ऐनमै ल्याउन खोजेको भन्दै त्यसबारे आपत्ति जनाएा छन । विद्यालयले त्यस्तो सुविधा उपलब्ध गराउन सक्दैनन् प्याब्सन केन्द्रीय महासचिव आरबी कटवालले बताउनुभयो ।
आज काठमाडौं उपत्यकामा निजी विद्यालय सञ्चालकहरूले स्कुल बसहरूमा कालो झण्डा र प्लेकार्ड राखी र्याली निकाले । रिङ रोडका विभिन्न भागमा जम्मा भएका विद्यालय बसहरूको लामो जुलुसले विधेयकको विरोध जनाएको थियो ।
प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएलगायत निजी विद्यालय सञ्चालक संगठनहरूले संयुक्त रुपमा सरकारसमक्ष विद्यालय शिक्षा विधेयकमा समावेश भएका प्रावधान खारेज गर्न माग गरेका छन् । उनीहरूले पूर्ण छात्रवृत्ति दिने प्रावधान हटाउनुपर्ने, पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना-खाजा लगायत उत्पादन नभएका सामग्री विद्यालयमार्फत उपलब्ध गराउनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने र कम्पनी ऐन अन्तर्गत सञ्चालनमा रहेका विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको प्रावधान सच्याउनुपर्ने माग राख्दै आएका छन् ।
झण्डै दुई वर्षको छलफल र बहसपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिवेदनसहित विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस गरेको छ । गत भदौ ५ गते समितिले बहुमतका आधारमा विधेयक पारित गरेपछि निजी विद्यालय सञ्चालकहरू असन्तुष्ट हुँदै आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले माग सम्बोधन नभए आगामी भदौ १८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।






