काठमाडौं – दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना महिला बेपत्ता भएका छन् ।
नौगाड गाउँपालिका–५ स्थित सौकेबगर नजिकै सोमबार दिउँसो साढे १ बजे म १ ह ११४८ नम्बरको अटो सडकबाट अनियन्त्रित भई करिब ५० मिटर तल खोलामा खसेको दार्चुला प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार मृत्यु हुनेमा करिब ११ वर्षकी एक बालिका रहेकी छन् जसको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परेका अन्य दुई महिला अझै बेपत्ता छन् भने उनीहरूको खोजी कार्य भइरहेको छ ।
अटोमा पाँच जना सवार रहेकोमा चालक मणिराज भुल र उनका छोरा आयुष भुल सकुशल रहेका छन् । आयुषको हात भाँचिएको प्रहरीले जनाएको छ ।
गोकुलेश्वरतर्फ आइरहेको अटो दुर्घटनामा परेको र चालक मणिराजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






