रुपन्देही – रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सात जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भूसालसहित सात जनाको नाम सिफारिस गरेको हो । भूसाल यसै क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट विजयी भएका थिए ।
सिफारिसमा परेका अन्य नेतामा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ का सह–इञ्चार्ज विजयलक्ष्मी राय रहेका छन् ।
जिल्लाबाट सिफारिस भएका सात नाममध्ये कार्यदलले अन्तिममा एक महिलासहित तीन जनाको नाम केन्द्रीय समितिमा पठाउनेछ । उक्त कार्यदलमा केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सह–इञ्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इञ्चार्ज ई. नन्दलाल बन्जाडे र जिल्ला अध्यक्ष हीराध्वज शाह रहेका छन् ।
कार्यदलले सातै नेतासँग छलफल गरेर चुनावी रणनीति र तयारी बुझ्ने र त्यसपछि मात्रै अन्तिम तीन नाम सिफारिस गर्ने जनाएको छ । रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने तय भएको छ ।






