आदर मल्टी इन्भेष्टमेन्ट कम्पनीको वार्षिक ९औँ साधारण सभा सम्पन्न, ७२% काम सम्पन्न

काठमाडौं — आदर मल्टी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको ९ औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । सभामा कम्पनीका अध्यक्ष दिपक सापकोटाले आ.व. २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीको हालसम्मको प्रगति, चुनौती र आगामी योजनाबारे जानकारी गराए ।

सभामा प्रमुख अतिथि पूर्वमन्त्री कृष्ण गोपाल श्रेष्ठ, प्रतिनिधिसभा सदस्य माधव सापकोटा, लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिती थियो । विभिन्न संघ–संस्थाका पदाधिकारी, समाजसेवी, व्यवसायी, सुरक्षा निकायका प्रतिनिधि तथा शेयर सदस्यहरू समेतको सहभागिता रहेको थियो ।

अध्यक्ष सापकोटाले हालसम्म कम्पनीले सिभिल तर्फ ९६ प्रतिशत, बित्तीय प्रगति ७० प्रतिशत र भौतिक प्रगति ७२ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार कम्पनीले २ वर्षभित्र आदर ट्रेड मलको निर्माण कार्य सम्पन्न गरी औपचारिक उद्घाटन गर्ने योजना अघि सारेको छ ।

हाल कम्पनीको शेयर पूँजी रु. १ अर्ब २५ करोड पुगेको छ भने बैंक/वित्तीय संस्थाबाट लिइएको ऋण जम्मा रु. २ अर्ब ३२ करोड तथा बाँकि पसल विक्रि तथा अग्रिम भुक्तानीबाट पुँजि जुटाएको प्रतिवेदनमा उल्लेख छ । अहिलेसम्म भवन निर्माण खर्च मात्रै करिब रु. ६ अर्ब ९ करोड भइसकेको बताइएको छ ।

आगामी योजना

  • कम्पनीको चुक्ता पूँजी १२५ करोडबाट बढाएर ३०० करोड पुर्याउने निर्णय ।
  • साधारण शेयर (IPO) तथा थप हकप्रद शेयर निष्कासन गर्ने तयारी ।
  • पसल तथा इकाई खरिदकर्ताहरूलाई किस्ता प्रणाली, छूट योजना कार्यान्वयन ।
  • भवनको बाँकी काम २०८२ चैत्रभित्र सम्पन्न गर्ने लक्ष्य ।
  • लिफ्ट, एस्केलेटर लगायतका प्रविधिक सामग्री खरिदका लागि टेण्डर प्रक्रिया सुरु गर्ने तयारी ।
  • नेपालकै सबैभन्दा ठूलो होलसेल व्यापारीक केन्द्रका रूपमा सञ्चालन गर्ने उद्देश्य ।

अध्यक्ष सापकोटाले कोरोना महामारी र अन्य कारणले निर्माणमा केही ढिलाइ भए पनि अहिले कार्य तीव्र गतिमा अघि बढेको र सरकारको सहुलियतपूर्ण नीतिगत सहयोगले परियोजना अझ सहज हुने विश्वास व्यक्त गरे ।

सभामा उपस्थित अतिथि तथा शेयरधनीहरूले कम्पनीको हालसम्मको कामको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी व्यवस्थापन र पारदर्शिता कायम गर्न सुझाव दिएका थिए । कार्यक्रममा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम, एकता व्यापार संघका अध्यक्ष तेज प्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्