काठमाडौं – यमनका प्रधानमन्त्री अहमद गालिब अल-रहावी इजरायली आक्रमणमा मारिएको दाबी हुथी विद्रोहीहरूले गरेका छन् । गाजा युद्ध सुरु भएपछि वरिष्ठ तहको यो पहिलो ठूलो क्षति भएको विद्रोहीहरू बताउँछन् ।
हुथी विद्रोहीहरूको सुप्रीम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मशातले शनिबार राजधानी साना भएको आक्रमणमा प्रधानमन्त्री अल-रहावी मारिएको घोषणा गरेका हुन् । तर उक्त दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।
एएफपीका अनुसार, अल-रहावीलाई अन्तिम पटक बुधबार सानामा आयोजित सार्वजनिक कार्यक्रममा देखिएको थियो । विद्रोहीहरूले जारी गरेको विज्ञप्तिमा उनको केही सहयोगीहरूसमेत मारिएको र केही उपचाररत रहेको उल्लेख छ ।
यसअघि पनि इजरायलले सानामा इरान समर्थित हुथी समूहका उच्च अधिकारीहरूलाई लक्षित गरेको थियो । तर रक्षा मन्त्रीसमेत आक्रमणमा परेका हुन् वा होइनन् भन्नेबारे स्पष्ट खुलाइएको छैन ।
अहमद गालिब अल-रहावी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए । तर सरकार सञ्चालनमा प्रमुख भूमिका उनका उप-प्रधानमन्त्री मोहम्मद मुफ्ताहकै हातमा रहेको बताइन्छ । अल-रहावीको निधनपछि मुफ्ताहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।






