लिपुलेक मुद्दामा प्रधानमन्त्री ओलीले जनाए चिनियाँ राष्ट्रपति सीसँग आपत्ति

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिप्रति नेपालले कडा आपत्ति जनाएको बताएका छन्।

शनिबार दिउँसो बेइजिङमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमिकता मिचिने खालको कुनै पनि सहमति नेपाललाई स्वीकार्य नहुने प्रष्ट पारेका हुन्।

परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँगको भेटमा भनेका छन्, “नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिप्रति मैले स्पष्ट आपत्ति राखेको छु। सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वको भूभाग नेपालकै हो भन्ने कुरा ऐतिहासिक रुपमा प्रष्ट छ। यस मामिलामा चीनले नेपाललाई सहयोग गर्ने हाम्रो विश्वास छ।”

भेटवार्तामा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको र सम्बन्ध थप मजबुत बनाउन दुवै देशका संयन्त्रहरू सक्रिय हुने सहमति भएको राईले जानकारी दिए।

प्रधानमन्त्री ओली हाल चीनको औपचारिक भ्रमणमा छन्। उनी २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शंघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रमसहित चीन पुगेका हुन्।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने र सेप्टेम्बर ३ मा बेइजिङमा हुने चीनको विजय उत्सवको ८०औँ वार्षिकोत्सव स्मृति कार्यक्रममा समेत सहभागी हुने कार्यतालिका छ।

यसैबीच, प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी अन्य विश्व नेताहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्