काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका लागि आज बिहान प्रस्थान गरेका छन् । उनको अनुपस्थितिमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति कार्यालयले आज सूचना जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेको जनाएको छ ।
यसअघि पनि प्रधानमन्त्री ओलीले विदेश भ्रमणका क्रममा सिंहलाई नै कार्यवाहकको जिम्मेवारी दिँदै आएका छन् ।
प्रधानमन्त्री ओली चीनमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुनेछन् । उनी यही भदौ १८ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।






