भैरहवा – लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान)को हृदयघातका कारण आज निधन भएको छ। उनी ७० वर्षका थिए।
नगर प्रमुख खानको शनिबार बिहान करिब ९ बजे स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेज, भैरहवा लैजाने क्रममा बाटैमा निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले जानकारी दिएका छन्।
वडाध्यक्ष मुसलमानका अनुसार खान शुक्रबार मात्र मलेसिया भ्रमणबाट घर फर्किएका थिए। “उहाँ हिजो राति सामान्य स्वास्थ्य अवस्थामा सुत्नुभएको थियो। बिहान उठेपछि असहज भएपछि मेडिकल कलेज लैजाँदै गर्दा बाटैमा निधन भएको हो,” उनले बताए।
नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख खान स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका थिए। उनको अचानक निधनले लुम्बिनी क्षेत्र शोकाकुल बनेको छ।






