काठमाडौं – चीनले जापानविरुद्धको युद्धको ८० औं वर्षमा आयोजना गर्न लागेको विजय उत्सवमा जापानका पूर्वप्रधानमन्त्री युकियो हातोयामा सहभागी हुने भएका छन् ।
चिनियाँ सरकारले हातोयामालाई आगामी सेप्टेम्बर ३ मा हुने सैन्य परेडसहितका स्मारक कार्यक्रमहरूमा सहभागी हुने जानकारी दिएको हो । जापानकै प्रमुख सञ्चारमाध्यम योमिउरी र एनएचकेले पनि हातोयामाको सहभागिता पुष्टि गरेका छन् ।
उक्त समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन पनि सहभागी हुने जनाइएको छ । नेपालमा यो कार्यक्रमलाई ‘जापानविरुद्ध’को रूपमा चित्रण गर्दै विरोध भइरहेको अवस्थामा, बेइजिङले भने जापानकै पूर्वप्रधानमन्त्रीलाई प्रमुख अतिथिका रूपमा सहभागी गराउने तयारी देखाएको छ ।
यसअघि पनि सन् २०१५ मा आयोजित ७० औं स्मृति सभामा जापानका पूर्वप्रधानमन्त्री मुरायामा तोमिचीलाई आमन्त्रण गरिएको थियो । तर स्वास्थ्य अवस्था बिग्रिएपछि उनी होटलमै बस्न बाध्य भएका थिए र कुनै कार्यक्रममा सहभागी हुन सकेका थिएनन् ।






