लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य भूभाग : सांसद पराजुली

 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य भूभाग भएकोमा आफ्नो दल दृढ रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पराजुलीले चीन–भारत सहमतिबारे चीन भ्रमणअघि स्पष्ट पार्न र राष्ट्रियताको सन्दर्भमा साझा अवधारणा बनाउन सरकारसँग माग गरे।

उनले १८१६ को सुगौली सन्धिबाट काली नदी नेपालको पश्चिमी सीमा भएको ऐतिहासिक तथ्य विवादको विषय बन्नै नसक्ने उल्लेख गर्दै लिम्पियाधुरा काली नदीको उद्गमस्थल भएको विभिन्न प्रमाणले पुष्टि गर्ने बताए।

पराजुलीले भने, “नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना हुने कुनै सम्झौता वा गतिविधि वैधानिक हुँदैन। यस्तो कार्यले आपसी सम्मान र सहअस्तित्वको सिद्धान्तमाथि ठाडो प्रहार मात्र होइन, नेपालको राष्ट्रिय स्वाभीमानमाथि ठूलो धक्का पनि हो।”

उनले भारत र चीनबीच नेपाललाई सहभागी नगराई लिपुलेक मार्ग प्रयोग गर्न गरिएको समझदारी अन्तर्राष्ट्रिय कानुनअनुसार अवैध रहेको दाबी गरे। सांसद पराजुलीले सरकार किन मौन बसेको भनी प्रश्न उठाउँदै सीमा विवाद समाधानका लागि कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्