काठमाडौं – रूसले बिहीबार युक्रेनमाथि ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्र प्रहार गरेको छ । बीबीसीका अनुसार, यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको भेटवार्ताको १३ दिनमै भएको हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिक्रिया दिँदै भनेका छन्, “रूसले शान्ति होइन, मिसाइल रोजेको छ।”
आक्रमणका कारण कीभस्थित ब्रिटिश काउन्सिलको कार्यालय क्षतिग्रस्त भएको छ, जसलाई ब्रिटिश सरकारको सम्पत्तिमा भएको पहिलो क्षति मानिएको छ । युरोपेली संघ (ईयू) मिशनका भवनहरूमा समेत क्षति पुगेको छ । आक्रमणपछि बेलायत र ईयूले रूसलाई कडा चेतावनी दिएका छन् । साथै, बेलायत र ईयूले आफ्ना-आफ्ना देशमा रहेका रूसी राजदूतलाई बोलाएर स्पष्टीकरण सोधेका छन् । तर, ह्वाइट हाउसले भने वार्ता निरन्तर रहने जनाएको छ ।
यसैबीच अमेरिकी सांसद लिन्डसे ग्राहामले युक्रेनमाथि बढ्दो रूसी आक्रमणलाई भारतसहितका मुलुकहरूको समर्थनसँग जोड्दै कडा आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “भारत, चीन, ब्राजिललगायतका देशहरूले रसियाबाट सस्तो तेल खरिद गरेर पुटिनको युद्ध मेसिनलाई बल दिइरहेका छन् । अब कस्तो अनुभव भइरहेको छ?”
उनले थपे, “तपाईंहरूको खरिदका कारण निर्दोष मानिसहरू, बालबालिकासहित, मारिँदैछन् । भारतले पुटिनलाई समर्थन गर्ने मूल्य तिरेको छ, बाँकी देशहरूको पालो पनि आउँछ।” लिन्डसेले भिडियोसमेत शेयर गरेका छन् जसमा रूसी आक्रमणका कारण बालबालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको देखिन्छ ।






