काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ ।
यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २ सय रुपैयाँले बढी हो । यसअघि साउन २३ गते सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो, जुन त्यतिबेला हालसम्मकै रेकर्ड मानिएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ५ रुपैयाँले बढ्दै २ हजार ३६० रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो ।
महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले त्यसको सीधा असर नेपाली बजारमा देखिएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३४ सय अमेरिकी डलर नाघिसकेको छ ।






