काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका मागलाई तत्काल सम्बोधन गरी दीर्घकालीन समाधानतर्फ सरकार अघि बढ्नुपर्ने बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा आज संक्षिप्त कुराकानी गर्दै उनले किसानसँग जोडिएका समस्या — मूल्य तोक्न ढिलाइ, भुक्तानीमा अवरोध, अनुदान नपाउने जस्ता विषयलाई तत्काल छलफलमार्फत समाधान खोज्न सरकारलाई आग्रह गरे ।
महामन्त्री थापाले सरकारले उत्पादन वृद्धिमा किसानलाई प्रोत्साहन गर्नुपर्ने भन्दै कृषि मन्त्रालयले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउनुपर्ने माग गरे । “चालु आर्थिक वर्षमा अनुदानका लागि दुई अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । त्यसैले किसानलाई अनुदान उपलब्ध गराउन कुनै द्विविधा छैन,” उनले स्पष्ट पारे ।
उनका अनुसार, आन्दोलनरत किसानका मागलाई प्रधानमन्त्री र अर्थमन्त्रीले प्रतिष्ठाको विषय नबनाए समस्या आजै समाधान हुनसक्छ । सरकार परिवर्तनको प्रश्नमा महामन्त्री थापाले एमाले–कांग्रेस सहकार्यमा बनेको वर्तमान सरकारमा केही असमानता भए पनि सरकार परिवर्तन नहुने प्रस्ट पारे । थापाले किसानको आन्दोलनलाई दीर्घकालीन रूपमा टुंग्याउन सरोकार भएका निकायसँग सरकार तुरुन्त छलफलमा बस्नुपर्नेमा जोड दिए ।






