अब युवाको उमेर १८ देखि ३५ वर्ष

काठमाडौँ — सरकारले ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८ देखि ३५ वर्षसम्म कायम हुने भएको छ। यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६ देखि ४० वर्षसम्म तोकिएको थियो।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार नयाँ नीतिमा “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्ष उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ” भनेर स्पष्ट उल्लेख गरिएको छ।

२०७८ सालको जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या ४२.५६ प्रतिशत रहेको थियो। अब नयाँ नीतिअनुसार युवाको जनसङ्ख्या पुनः गणना गर्न आग्रह गरिएको बस्नेतले जानकारी दिए।

उनका अनुसार बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ सम्म भएकोले १८ वर्षदेखि ३५ वर्षसम्मलाई युवा समूहमा राखिएको हो। संयुक्त राष्ट्र सङ्घले १५ देखि २४ वर्षलाई युवा भनेको छ भने भारतले पनि त्यही उमेर समूहलाई युवा मान्दै आएको छ।

तर, राष्ट्रिय युवा परिषद् ऐन–२०७२ संशोधन नभएसम्म कानुनी रूपमा भने युवाको उमेर अझै १६ देखि ४० वर्ष कायम हुने बस्नेतले बताए। “युवा नीति अनुसार ऐन संशोधन गर्नुपर्छ,” उनले जोड दिए।

प्रत्येक पाँच वर्षमा नीति परिमार्जन गर्नुपर्ने प्रावधान भए पनि यसपटक करिब १० वर्षपछि युवा नीति संशोधित भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्