नेकपा (माओवादी केन्द्र)ले मध्यपहाडी लोकमार्ग जनजागरण अभियान फेरि थाल्ने, महासचिव सम्मका नेता मात्रै सहभागि हुने

File Photo

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले स्थगित भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान पुनः सुरु गर्ने भएको छ। हालै बसेको स्थायी कमिटी बैठकले अभियान भदौ २२ गते लमजुङबाट सुरु गर्ने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए।

उनका अनुसार भदौ २१ गते बेलुका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली लमजुङमा बास बस्नेछ। २२ गते लमजुङ खण्डमा कार्यक्रम आयोजना गरेर बेलुका गोरखा पुग्ने, २३ गते गोरखा खण्डमा कार्यक्रम गरेर धादिङतर्फ बढ्ने र २४ गते धादिङमा सार्वजनिक कार्यक्रम गरी बेलुका नुवाकोट पुग्ने कार्यतालिका तय भएको छ। भदौ २५ गते दिनभर नुवाकोट खण्डमा कार्यक्रम सञ्चालन गरी बेलुका काठमाडौं फर्कने योजना रहेको उनले बताए। बाँकी जिल्लाको तालिका भने पछि निर्धारण गरिनेछ।

महासचिव गुरुङका अनुसार अभियान अन्तर्गत प्रत्येक जिल्लामा एक–एक सार्वजनिक संवाद कार्यक्रम र एक–एक संगठनात्मक तथा प्रशिक्षण मूलक कार्यक्रम सञ्चालन गरिनेछ। साथै सार्वजनिक कार्यक्रममा सर्वपक्षीय प्रतिनिधिमूलक सहभागिता सुनिश्चित गर्न निर्देशन दिइएको छ।

अभियानमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पार्टी उपाध्यक्ष र महासचिव सहभागी रहनेछन्। यसअघि माओवादीले तराई–मधेस जागरण अभियान सम्पन्न गरी मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान थालनी गरेको थियो। तर वर्षायामका कारण केही समय रोकेर अहिले पुनः सुरु गर्न लागिएको हो।

पार्टीले यस किसिमका अभियानले माओवादीप्रति आकर्षण बढेको निष्कर्ष निकालेको छ। यसपटक भने प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच वाकयुद्ध चलिरहेका बेला अभियानमा महासचिव तहसम्मका नेताहरू मात्र सहभागी हुने सर्कुलर गरिएको पार्टी स्रोतले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्