काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीमा आएर अध्यक्ष पदमा उम्मेदवारी दिएको खण्डमा जित्न नसक्ने दाबी गरेका छन्।
आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंका प्रतिनिधिहरूसँग भएको अनौपचारिक छलफलमा ओलीले नेतृत्वका लागि क्षमता र परिस्थिति अनुसार डटेर अघि बढ्ने साहस आवश्यक पर्ने बताए। उनले भने, “पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष उठे हार्नुहुन्छ। हारेपछि पार्टीविरुद्ध लाग्नुहुन्छ र त्यसपछि भीम रावलजस्तै स्पष्टीकरण र कारबाहीको प्रक्रियामा जानुपर्ने हुन्छ।”
ओलीले पार्टीको विधि र पद्धतिबाट सदस्यता नलिएर मिडिया तथा अन्य दलका नेतासँग सक्रिय राजनीति गर्ने कुरा उठाएको भन्दै भण्डारीप्रति असन्तुष्टि व्यक्त गरे। उनका अनुसार, यसले पार्टीको आन्तरिक एकतालाई कमजोर पार्ने खतरा छ।
भेटमा ओलीले भण्डारीलाई आफूले सधैं सम्मान र माया दिएको स्मरण गराउँदै अपमानजनक अवस्थामा जानुभन्दा अहिलेको सम्मानजनक हैसियत कायम राख्न सुझाव दिएका थिए। उनले भने, “भण्डारीलाई अरु नेताले भन्दा बढी मैले सम्मान र मायाँ दिएको छु। तर, उहाँ पार्टीमा आएर अध्यक्ष उठ्नुहुन्छ, हार्नुहुन्छ र पछि पार्टीविरुद्ध लाग्नुहुन्छ भने त्यस्तो अवस्थाले उहाँलाई पनि अपमानित बनाउँछ।”
अध्यक्ष ओलीले वामपन्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, व्यक्तिगत स्वार्थका कारण आन्दोलनलाई भोग्नुपरेको क्षति र वर्तमानमा पार्टीले लिएका नीति–निर्णयका विषयमा पनि आफ्नो धारणा राखे। उनले अहिलेको सरकारले विकास र सुशासनका लागि गरेका प्रयासलाई समेत सकारात्मकरूपमा प्रस्तुत गरे।







