काठमाडौं । काठमाडौंको पेप्सीकोलामा रहेको नेक्सस इन्टरनेशनल एकेडेमीकी विद्यार्थीनी स्वोर्लिन श्रेष्ठले भुटानको थिम्पुमा सम्पन्न बैडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय च्याम्पियनसिप–२०२५ मा ऐतिहासिक सफलता हात पारेकी छन् ।
श्रेष्ठले विभिन्न खेलतर्फ चारवटा पदक जितेकी छन् । उनले महिला डबल्स र टोलीगत खेलमा रजत पदक तथा महिला सिंगल्स र मिक्स डबल्समा काँस्य पदक जित्दै विद्यालय मात्र नभई सम्पूर्ण नेपाललाई गौरवान्वित बनाएकी हुन् ।

यस उपलब्धिप्रति श्रेष्ठका अभिभावकले अपार खुसी व्यक्त गर्दै निरन्तर मेहनत, विद्यालयको प्रोत्साहन र खेलकुदमा दिएको वातावरणकै कारण यो सफलता सम्भव भएको बताएका छन् ।
सो अवसरमा विद्यालयका प्रिन्सिपल आर.बी. कटवालले स्वोर्लिनको उपलब्धि विद्यालय र देशकै लागि गर्वको विषय भएको उल्लेख गर्दै भने, “हाम्रो विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा पदक जित्नु विद्यालय मात्र नभई सम्पूर्ण राष्ट्रकै लागि गौरवको कुरा हो । यसले अन्य विद्यार्थीलाई पनि खेलकुदमा प्रेरित गर्नेछ ।”
नेक्सस इन्टरनेशनल एकेडेमीले स्वोर्लिनलाई उज्ज्वल भविष्यका लागि शुभकामना दिंदै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न निरन्तर साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।







