आजको मौसम : देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ । मौसमविदका अनुसार मधेश र कर्णालीका थोरै स्थानबाहेक अरु धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तो अवस्था आज दिनभरी नै हुने सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित भए पनि मनसुनी वायुको गतिविधि जारी छ । त्यसैले बंगालको खाडीबाट पानीमिश्रित हावा नेपालतिर आएको छ । त्यही मनसुनी हावाको प्रभाव बुधबारदेखि नै बढेको छ । त्यसैले आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षाको प्रक्षेपण छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भेगका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने सम्भावना रहेको तथा हवाई तथा सडक यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्