काठमाडौँ — नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार चरित्रहत्या सम्बन्धी कसूरको आरोपमा पक्राउ परेपछि हाजिर जमानीमा छुटेका छन्।
बुधबार अपराह्न जिल्ला न्यायाधिवक्ता कार्यालय काठमाडौंले बयान लिएको कार्य सम्पन्न गरेपछि महरलाई हाजिर जमानीमा राखिएको सरकारी वकिल कार्यालयका प्रवक्ता गोकुलबहादुर निरौलाले जानकारी दिए।
२९ वर्षीया एक युवतीले आफ्नो चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएपछि महरलाई बुधबार बिहान पक्राउ गरिएको थियो। पीडित युवतीले भदौ ३ गते हुलाकमार्फत जाहेरी पठाएकी थिइन् भने भदौ ८ गते साइबर ब्युरोले सनाखत गराएको थियो।
युवतीले महरसहित उनका परिवारले सामाजिक सञ्जालमार्फत फोटो तथा भिडियो पोष्ट गरी अपशब्द प्रयोग गर्दै चरित्रहत्या गरेको आरोप लगाएकी छिन्। सोही आधारमा उनले विद्युतीय कारोबार ऐनअनुसार कारवाहीको माग गर्दै उजुरी दर्ता गरेकी थिइन्।
उक्त दफामा सामाजिक सञ्जाल वा विद्युतीय सञ्चार माध्यममार्फत अपमानजनक, हैरानी गर्ने वा अमर्यादित सामग्री प्रकाशन वा प्रदर्शन गरे एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद, वा दुवै सजाय हुने व्यवस्था छ। दोहोरिएमा अघिल्लो सजायको डेढी सजाय हुने पनि प्रावधान छ। उजुरी दर्ता भएपछि जिल्ला अदालत काठमाडौंले भदौ ९ गते महरलाई पक्राउ गर्न अनुमति दिएको थियो।
यसबीच, आचरणसम्बन्धी प्रश्न उठेपछि एमालेले उनलाई केन्द्रीय सदस्य पदबाट निलम्बन गरेको थियो। तर बझाङमा प्रदेशसभा उपनिर्वाचनअघि सो निलम्बन फुकुवा गरिएको थियो।
बझाङ स्थायी घर भएका महर अनेरास्ववियुका पूर्वअध्यक्ष हुन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले उनलाई बझाङबाट उम्मेदवार बनाएको थियो तर उनी एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए।






