काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार चीन प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीन भ्रमण गर्न लागेका हुन्।
भ्रमणकालीन क्रममा प्रधानमन्त्री ओलीले उत्तरी चीनको तिआन्जिनमा भदौ १५ र १६ गते हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन मा भाग लिने छन्। सम्मेलनको उद्घाटन राष्ट्रपति सीले गर्नेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख पनि उपस्थित हुने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग छुट्टै भेटवार्ता गर्नेछन्। यस्तै, उनले १७ भदौमा तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले विभिन्न मुलुकका नेताहरूसँग भेटवार्ता गर्नेछन् भने चीनका उपराष्ट्रपति हान झेङसँग पनि छलफल हुने छ।
प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध तथा विश्वव्यापी फासिवादविरोधी युद्ध मा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव कार्यक्रममा पनि सहभागी हुनेछन्। भ्रमण टोलीमा शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहितका उच्च अधिकारीहरू रहनेछन्।
चीन भ्रमण सकिएलगत्तै प्रधानमन्त्री ओली भारत प्रस्थान गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ।






