आज विश्वका विभिन्न देशमा पहिलोपटक विश्व ताल दिवस मनाइँदै

बेदकोट ताल, कञ्चनपुर

काठमाडौँ – पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा पहिलोपटक विश्व ताल दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानअनुसार गत वर्ष महासभाले यस दिवस मनाउने निर्णय गरेको थियो।

यस दिवसमार्फत् विभिन्न संघसंस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरणविद् र शैक्षिक अभियन्तालाई तालको महत्त्वबारे जनचेतना फैलाउने र तिनको संरक्षणलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। संयुक्त राष्ट्रसंघका तथ्याङ्कअनुसार पृथ्वीमा करिब ११ करोड ७० लाखभन्दा बढी ताल छन्, जसले विश्वको कुल जमिन क्षेत्रफलको चार प्रतिशत भाग ओगटेका छन्। तर बढ्दो प्रदूषण, मिथेन ग्यास उत्सर्जन, जलवायु परिवर्तन र ताजा पानीका स्रोतहरूको घट्दो अवस्था तालहरूको अस्तित्वका लागि चुनौती बनेको छ।

तालहरूले जैविक विविधता कायम राख्न महत्त्वपूर्ण योगदान दिँदै आएका छन्। तर विश्वव्यापी तापक्रम वृद्धिका कारण कतिपय तालहरू सुक्दै गएका छन् भने हिमनदी तथा बरफ पग्लनुले थप संकट निम्त्याएको छ।

विज्ञहरूले विश्व ताल दिवसले यी चुनौतीप्रति अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराई संरक्षण र दिगो व्यवस्थापनमा सबैलाई संलग्न गराउने अपेक्षा व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्