भारतले बाँधको अतिरिक्त पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम

काठमाडौँ – भारतले ‘ओभरफ्लो’ भइरहेका बाँधहरूबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम सिर्जना भएको छ । यससँगै सुरक्षा निकायहरूले दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।

नयाँ दिल्लीले अघिल्लो दिन नै इस्लामावादलाई सम्भावित सीमापार बाढीबारे सचेत गराएको थियो । हालैका महिनामा दुई आणविक–सशस्त्र प्रतिद्वन्द्वीबीच भएको यो पहिलो सार्वजनिक कूटनीतिक सम्पर्क पनि भएको छ ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले सतलज नदीमा जलस्तर बढ्दै गएको चेतावनी जारी गरेको छ । पञ्जाब प्रान्तका विभिन्न जिल्लामा राहत तथा उद्धार कार्य तीव्र पारिएको छ । उद्धारकर्ताहरूले मात्र कसुर जिल्लाबाट १४ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा पु¥याएका छन् भने भारतीय सीमासंगैको बहावलनगर शहरबाट ८९ हजारभन्दा बढी बासिन्दा सारिएको जनाइएको छ । एनडीएमएले नागरिकलाई नदी, खोल्सा र तल्लो क्षेत्रबाट टाढा रहन, अनावश्यक यात्रा नगर्न र मिडिया, मोबाइल सन्देश तथा विपद् चेतावनी एपमार्फत जारी सूचना ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ ।

भारी मनसुनी वर्षा जारी रहँदा पाकिस्तानले हालैदेखि बाढीको उच्च सतर्कता घोषणा गर्दै निकासी अभियान चलाइरहेको छ । यसअघि यसै महिना उत्तरपश्चिमी बुनेर जिल्लामा आएको आकस्मिक बाढीमा ३०० भन्दा बढी मानिसको ज्यान गएको थियो । स्थानीय बासिन्दाले पूर्वचेतावनी नपाएको गुनासो गरेका थिए भने अधिकारीहरूले आकस्मिक वर्षाका कारण बाढी अनुमान गर्न नसकिएको बताएका छन् ।

२६ जूनयता पाकिस्तानमा मनसुनी वर्षाबाट निम्तिएको बाढीमा ८०० भन्दा बढीको ज्यान गइसकेको छ । विवादित काश्मिर क्षेत्रमा मात्रै दर्जनौँको मृत्यु भएको छ भने भारत प्रशासित भागमा हजारौँ विस्थापित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्