काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलबभत्ताबाट मकवानपुरको मनहरी गाउँपालिका–९ निवासी विपन्न मिठुमाया सुनारको घर निर्माणका लागि सहयोग गरेका छन्।
मुख्यमन्त्रीको पदभार ग्रहण गरेकै दिन बानियाँले तलबभत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब तथा विपन्न परिवारको घर निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए। सोही घोषणाअनुसार करिब पाँच वर्षअघि श्रीमान गुमाएकी र एक मात्र छोरा संगम सुनार अपांगता भएका अति विपन्न सुनारको घर बनाउन आज २ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो।
मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा बानियाँले मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलाई चेक हस्तान्तरण गरे। उनले विपन्न परिवारलाई स्थानीयवासी तथा गाउँपालिकाको सिफारिसका आधारमा सहयोग गर्ने बताउँदै, “जनताले दिएको माया र विश्वासको प्रत्युत्तर स्वरूप सामाजिक उत्तरदायित्व पूरा गर्ने प्रयास गरेका हौं,” भने।
मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीका अनुसार मुख्यमन्त्रीबाट प्राप्त रकमले सुनारका लागि दुई कोठा, एउटा भान्सा कोठा, बाथरुम र शौचालय निर्माण गरिनेछ।






