तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, पहिलोपटक पानीको फोहोरा व्यवस्थापन

काठमाडौं – तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । दर्शनार्थीका लागि मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ। भक्तजन लामबद्ध भएर पूजा गर्ने, नाचगान गर्ने र तीजको उल्लास मनाइरहेका छन्।

यस वर्ष तीजमा पहिलोपटक व्रतालुलाई शीतल होस् भनेर माथिबाट पानीको मसिना फोहोरा बर्सिने व्यवस्था गरिएको छ। परीक्षणका रूपमा गरिएको यो व्यवस्थालाई आगामी दिनमा निरन्तरता दिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीका अनुसार दर्शनार्थीलाई लामो समय घाममा बस्न असहज नहोस भनेर १ देखि डेढ घण्टामै दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ।

सूचना अधिकारी अनिता भट्टका अनुसार, बाहिरी भागबाट मन्दिर छिर्ने चार वटा लाइन र भित्र आठ वटा लाइनको व्यवस्था गरिएको छ। पहिलो लाइन गौरीघाट हुँदै उत्तरढोकाबाट प्रवेश गर्ने, दोस्रो लाइन मित्रपार्क हुँदै फलामे पुलबाट प्रवेश गर्ने, तेस्रो लाइन पिंगलास्थान हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने, चौथो लाइन तिलगंगा हुँदै वागमती नदी पार गरी पूर्व ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।

दर्शनपछि भक्तजनलाई विभिन्न कक्षमार्फत जुत्ता–चप्पल बुझ्ने र सानोसदावर्त सत्तल, उमाकुण्ड, तिलगंगा, जयबागेश्वरीलगायत स्थानमा चन्दन वितरण गर्ने व्यवस्था मिलाइएको छ। मन्दिरभित्र हुने श्रीयन्त्र पूजाको समयमा बाहिरबाटै दर्शन गर्न सकिने गरी जाली राखिएको छ भने गौदान, पूर्णपात्रो जस्ता धार्मिक कार्यका लागि वनकाली क्षेत्रमा विशेष व्यवस्था गरिएको छ। तेस्रो मुलुकका पर्यटकले प्रवेश शुल्क तिरेर मेला क्षेत्र (मन्दिर प्रांगणबाहेक) अवलोकन गर्ने सुविधा पाएका छन्।  तीजमा पशुपतिनाथमा भक्तजनको उत्साह यस वर्ष थप व्यवस्थित र सहज हुने कोषको दाबी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्