काठमाडौं – सरकारले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै उक्त निर्णयलाई मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको हो।
गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार, २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने विषय मन्त्रालयको वार्षिक बजेटमै समावेश भएको छ। यसका लागि आवश्यक भौतिक संरचना निर्माण र कर्मचारी दरबन्दी व्यवस्थापनको प्रक्रिया अघि बढाइने उनले बताए।
अर्थ मन्त्रालयले बजेट निकासा गरेपछि नयाँ कार्यालय स्थापना गर्ने कार्यान्वयन प्रक्रिया सुरु हुने आचार्यले जानकारी दिए।
सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचमा देखिएको असमानतालाई मध्यनजर गर्दै गृह मन्त्रालयले प्रस्ताव अघि सारेको हो। मन्त्रालयले आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय खोल्ने योजना रहेको जनाएको छ।






