भक्तपुर – नेपाली कांग्रेस भक्तपुरका युवा नेता तथा समाजसेवी रवि राणाले मिर्गौला प्रत्यारोपणपछि उपचाररत जपिन्द्र अवाल (मेथी)लाई आर्थिक सहयोग गरेका छन्।
रविवार नेपाली कांग्रेस भक्तपुरको कार्यालय सल्लाघारीमा आयोजित कार्यक्रममा राणाले प्रदान गरेको रु. १ लाख २५ हजार सहयोग रकम प्रमुख अतिथि नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले अवाललाई हस्तान्तरण गरेका हुन्।
सो अवसरमा सांसद थापाले रवि राणाले देखाएको सेवाभावको प्रशंसा गर्दै राजनीतिकर्मी समाजका सच्चा सेवक भएको बताए। उनले राणाको योगदानले समाजमा सकारात्मक प्रेरणा मिल्ने उल्लेख गर्दै उनलाई उदाहरणीय व्यक्तित्वको रुपमा प्रस्तुत गरे।
युवा नेता राणाले भने परिवार र पार्टीबाट प्राप्त प्रेरणाले आफू समाजसेवामा सक्रिय भएको बताउँदै आगामी दिनमा पनि समाजको हितमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए।
यसअघि पनि राणाले समाजका विभिन्न क्षेत्रमा आर्थिक तथा सामाजिक सहयोग गर्दै आएको उल्लेख गरिएको छ।






