साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं – भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशले हालसम्म समान २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेका छन् । नेपाल भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हरायो ।

बंगलादेशले भुटानलाई पहिलो खेलमा ३-१ ले हराउँदा भारतसँग २-० ले पराजित भयो । पछिल्लो समय बंगलादेशले महिला फुटबलका हरेक उमेर समूहमा राम्रो प्रदर्शन गर्दै आएको छ । अगस्ट ३१ सम्म हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् । प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।

हाल भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भएपनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रोमा छ । आजै हुने अर्को खेलमा भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्