काठमाडौं – सडक बोर्डले देशभर पुनः सडक प्रयोग दस्तुर (टोल ट्याक्स) उठाउने तयारी गरेको छ। बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार यसको सुरुवात पश्चिम नेपालबाट हुने र पहिलो चरणमा भैरहवा–भूमही सडक खण्डमा लागू गरिने भएको छ।
उनका अनुसार कोभिड महामारीअघि उठाइँदै आएको दस्तुर रकम यसपटक २०–२५ प्रतिशतले बढाइनेछ। मोटरसाइकल भने दस्तुरमुक्त हुने जनाइएको छ। यसअघि नारायणगढ–मुग्लिन सडकमा भारी सवारीसाधनलाई ५५ र हलुका सवारीसाधनलाई २५ रुपैयाँ तोकिएको दर कायम थियो। अब नयाँ दर केही बढेर लागू हुने देखिएको छ।
बोर्डले दस्तुरबाट उठ्ने रकमको दुईतिहाइ सोही सडकमा खर्च गर्ने भएकाले सडकको अवस्था सुधार हुने र यातायात खर्च बढ्ने कुरा निराधार रहेको दाबी गरेको छ। तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दस्तुर बढाइए भाडादर पनि बढाउनुपर्ने चेतावनी दिएको छ।
हालै सरकारले नागढुङ्गा सुरुङमार्गका लागि फरक–फरक सवारीसाधनका आधारमा दस्तुर तोकेको छ। कार–भ्यानले ६५ रुपैयाँ, मिनिबस–मिनिट्रकले ११५ रुपैयाँ र बस–ट्रकले २६० रुपैयाँ तिर्नुपर्ने दर कायम गरिएको छ। बोर्डले निकट भविष्यमा भैरहवा–भूमहीसँगै पथलैया–वीरगन्ज, धरान–विराटनगर, मुग्लिन–नारायणघाटलगायत २२ वटा सडक खण्डमा दस्तुर उठाउने योजना अघि बढाएको छ।
अधिकारीहरूको दाबी अनुसार दस्तुर उठेपछि सडक मर्मत, खाल्डाखुल्डी हटाउने, पहिरो व्यवस्थापन, दुर्घटना न्यूनीकरण र सेवा प्रवाहमा सुधार आउनेछ।







