कञ्चनपुर – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) प्रतिवेदनमा कञ्चनपुरका नौवटै स्थानीय तह सहभागी भएका छन्। यस वर्षको मूल्याङ्कनमा बेदकोट नगरपालिका ८३.२५ अंकसहित जिल्लामै उत्कृष्ट स्थानीय तह बनेको छ।
बेदकोट नगरपालिकापछि बेलौरी नगरपालिका ८२.५०, भीमदत्त नगरपालिका ८१.२५, लालझाडी गाउँपालिका ८१.७५, पुनर्वास नगरपालिका ८१.००, बेल्डाँडी गाउँपालिका ८१.७५, र शुक्लाफाँटा नगरपालिका ८०.०० अंकसहित उत्कृष्ट सूचिमा परेका छन्। यस्तै कृष्णपुर नगरपालिका ७३.२५ र दोधारा–चाँदनी नगरपालिका ७१.५० अंक प्राप्त गरी जिल्लाका अन्य स्थानीय तहहरू रहेका छन्।
लिसा मूल्याङ्कनमा शासकीय प्रबन्ध, बजेट तथा योजना व्यवस्थापन, वित्तीय अनुशासन, सेवा प्रवाह, सामाजिक समावेशीकरण, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापनलगायत नौ वटा सूचकका आधारमा मूल्याङ्कन गरिन्छ।
यो नतिजाले कञ्चनपुरका स्थानीय तहहरू संस्थागत क्षमता, शैक्षिक सुधार, सेवा प्रवाह, पूर्वाधार विकास र सुशासनका क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको प्रमाणित भएको सरोकारवालाहरूको भनाइ छ।






